११ बैशाख २०८१, मंगलबार

अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन् : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी घटकका नेताले अझै बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका बताएका छन् ।

आजबाट काठमाडौँमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले माओवादी घटकप्रति कटाक्ष गर्दै नेपालको राजनीतिमा एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने बताएका हुन् ।

ओलीले सत्तारुढ दल माओवादी केन्द्रलाई लक्षित गर्दै राजनीतिक दलले राष्ट्रिय मानव अधिकार आयोगलाई समेत धम्की दिने काम गरिरहेको आरोप लगाए । उनले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको टिप्पणी समेत गरे ।

ओलीले नेपालमा मानवअधिकारको इतिहास लामो भएको भन्दै नेपालमा धेरै मान्छे राष्ट्र वा जनताको हकअधिकारका लागि लड्दा मरेको पनि बताए । उनले मानवअधिकार रक्षाका निम्ति नेपालमा सबभन्दा पहिला १९९५ मा मानवअधिकारकै संस्था खोलेर त्रिचन्द कलेजका तत्कालीन विद्यार्थी गंगालाल श्रेष्ठले पहिलो प्रवचन गरेको बताए ।

ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सचेत गराए । उनले नेपालमा मानव अधिकार उलंघनकर्ताहरूले नै धेरै मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

बुद्ध जन्मेका देशका नेपालीहरु मृत्युदण्डको पक्षमा जानु हुँदैन : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !