
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेका छन् ।
पार्टीका महाधिवेशन प्रतिनिधि दीपक भट्टराई तथा नेका तनहुँ क्षेत्र नं १ का सभापति श्याम मौरतीको नेतृत्वको टोलीले आइतबार पार्टी सभापति देउवासित भेट गरी उपनिर्वाचनमा युवालाई जिम्मेवारी दिन माग गरेका हुन् ।
तनहुँ १ बाट निर्वाचित सांसद् रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उक्त स्थान अव रिक्त भएको छ । उक्त स्थानमा अव उपनिर्वाचन हुने भएको छ । भेटमा काँग्रेसका युवा नेताहरुले राष्ट्रपतिमा पौडेल निर्वाचित हुने राजनीतिक माहोल सिर्जना गरेकोमा सभापति देउवालाई धन्यवाद समेत दिएका छन् ।
भेटमा सभापति देउवाले आसन्न उपनिर्वाचनमा पार्टीका सबैपक्षसँग सरसल्लाह गरेर मात्र टिकटको निधो गरिने जानकारी पार्टीका नेताहरुलाई दिएको महाधिवेशन प्रतिनिधि दीपक भट्टराईले जानकारी दिए ।