४ बैशाख २०८१, मंगलबार

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै


माओवादी धारका ८ पार्टी

काठमाडौँ । माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । माओवादी घटकहरुले आज दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

माओवादी घटकहरुले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । सर्वोच्च अदालतले जनयुद्धको विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता गर्न मिल्ने आदेश दिएसँगै माओवादी घटकहरु एकमत हुँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । माओवादी घटकहरुले सर्वोच्च अदालतको आदेश शान्ति प्रक्रिया विपरीत रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।

माओवादी केन्द्रका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहनेछन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !