१२ बैशाख २०८१, बुधबार

पालिका स्थापना दिवसमा उपप्रधानमन्त्री श्रेष्ठ गृह जिल्ला गोरखामा


नारायणकाजी श्रेष्ठ

गोरखा । गाउँपालिका स्थापना दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शनिवार गृहजिल्ला गोरखाका दुई छुटाछुट्टै कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

आरुघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पालिकाभरीका चार उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको थियो। त्यसक्रममा उत्कृष्ट तरकारी उत्पादक कृष्णबहादुर गुरुङ, फलफुल उत्पादक नारायण न्यौपाने, पशुपालक सुकबहादुर नेपाली र माछा उत्पादक इन्द्रबहादुर खड्कालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जनताले अनुभुत गर्नेगरी सामाजिक आर्थिक विकास गरेर गोरखालाई नमुना जिल्ला बनाउनुपर्नेमा जोड दिए । पालिका अध्यक्ष राजु गुरुङले विभिन्न योजनाको आवश्यकता औंल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठलाई मागपत्र पेस गरेका थिए ।

नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री श्रेष्ठले धार्चे गाउँपालिकाको स्थापना दिवसलाई समेत सम्बोधन गरेका थिए । त्यसक्रममा पालिका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी प्रदेशका पूर्व प्रदेश राज्यमन्त्री छमबहादुर गुरुङ लगायतले सडक र पुल निर्माण एवं विस्तारमा जोड दिएका थिए ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित गोरखा पुग्नुभएका श्रेष्ठले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखिएको र सेनाले निर्माण गर्दैगरेको बेनीघाट-लार्केभञ्ज्याङ् ९२ किलोमीटर सडकलाई हरहालतमा सम्पन्न गरिने बताए । त्यसक्रममा पालिकाका विभिन्न क्षेत्रका व्यक्तित्व र पूर्व जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

त्यससँगै उपप्रधानमन्त्री श्रेष्ठले पालिकामा विकास हाइड्रोपावर कम्पनि लिमिटेडद्वारा प्रबर्द्धन गरिएको चार दशमलव ५५ मेगावाटको माथिल्लो माच्छा खोला साना जलबिद्युत आयोजनाको समेत अवलोकन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !