१३ बैशाख २०८१, बिहिबार

एमालेको निर्णय : अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा आज बिहान बसेको एमालेको सचिवालय बैठकले पार्टीको तर्फबाट शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मत रुपमा निर्णय भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै आज बसेको एमालेको सचिवालय बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरामा अधिकांश नेताहरु सहमत भएको पनि उनले बताए ।

एमालेले पुरुषलाई नै दुई वटै पद राष्ट्रपति र उपराष्ट्रपतिमा उठाउने कुरा संविधान विपरित हुने पनि निष्कर्ष निकालेको छ । राष्ट्रपतिमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेकोले उपराष्ट्रपति महिला हुनुपर्ने आवाज उठिरहेको सन्दर्भमा एमालेले शाक्यलाई अघि सारेको हो ।

शाक्य विगतमा बागमती प्रदेशकी मुख्यमन्त्री समेत बनेकी थिइन् । आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने कार्यतालिका रहेको छ ।

यसैगरी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !