१७ चैत्र २०७९, शुक्रबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ मा


सर्वोच्च अदालत र प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको दायर भएको रिट आज ‘हेर्न नभ्याइने’ मा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको थियो ।

अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । तत्कालीन १० वर्षे शसस्त्र द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । सर्वोच्च अदालत पुगेर अधिवक्ता आरनले उक्त रिट दर्ता गरेका थिए ।

सर्वोच्चले गत शुक्रवार द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने भन्दै आरनसहितले दिएको उक्त रिट दर्ताका लागि आदेश दिएको थियो ।

प्रचण्डले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !