१३ बैशाख २०८१, बिहिबार

शान्ति सम्झौताका विरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका पार्टीको निर्णय


माओवादी धारका ८ पार्टी

काठमाडौँ । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकसाथ प्रतिवाद गर्ने भएका छन् । आज मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले सो निर्णय गरेको हो ।

माओवादी धारका ८ पार्टीले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा एकठाउँ उभिन एकमत भएका हुन् । यस्तै ती दलको बैठकले एक आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्ने बारेमा ८ वटै पार्टी एक ठाउँ उभिएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल सहभागी भएका थिए ।

यस्तै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायतका नेताहरु पनि सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरु एक भएका हुन् । गत आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरुले एकजुट भएर अगाडि बढ्ने बताएका थिए ।

यस्तो छ माओवादी धारका ८ पार्टीले निकालेको प्रेस विज्ञप्ति

माओवादी धारका ८ पार्टीले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !