१३ बैशाख २०८१, बिहिबार

माओवादी धारका नेताहरूको बैठक बालुवाटारमा जारी


माओवादी धारका नेताहरूको बैठक

काठमाडौँ । माओवादी धारका नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरूको संयुक्त बैठक बिहान साढे ८ बजेदेखि सुरु भएको हो ।

जारी बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल सहभागी रहेका छन् ।

यस्तै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायतका नेताहरु पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादी नेताहरु एक भएका हुन् । बैठकमा पार्टी एकता वा कार्यगत एकताबारे छलफलको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा माओवादी धारका नेताहरुले एकजुट भएरअगाडि बढ्ने बताएका थिए । द्वन्द्वकालीन घटनाको मुद्दाको विषय उठेपछि १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका नेताहरू छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !