८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत


कमलबहादुर शाह फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धि प्रस्तावकाे पक्षमा ४१ मत र विपक्षमा ११ मत परेकाे हाे । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन् । आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा (माओबादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजबादी( ले विश्वासको मत दिएका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना गरी जम्मा ४१ मत प्राप्त गरेका हुन् ।

विश्वासको मत विभाजनमा ५२ प्रदेश साँसद उपस्थित भएकोमा शाहले दुई तिहाइ भन्दा बढि मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्दथ्यो ।

संविधानको धारा १६८ (३) बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आगामी फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको थियो । प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न चुनावलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा एमालेका रावल मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !