१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी


निषेधाज्ञा फाइल फोटो

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाबाट आज नामकरण टुंगो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशमा कोसी नाम राख्न नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहमत भएका छन् । यी तीन दलहरू भुगोलका आधारमा कोसी नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना देखिएकोले जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

कांग्रेस र एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरेका छन् । प्रदेशसभा सचिवालयमा बुधबार दुवै दलले प्रदेश १ को नामकरणका लागि कोसी नाम दर्ता गराएका हुन् । एमालेका रामबहादुर मगर प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थन कांग्रेसका भूमिप्रसाद राजवंशी,एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका छन् ।

प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट पनि प्रस्ताव दर्ता भएको छ । दुवै दलले ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरी दर्ता गराएका छन् । नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा दर्ता गराइएको हो ।

प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर आज दिउँसो ३ बजेदेखि अर्काे सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरू नगर्न प्रशासनले आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी गरिएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट राजधानी आउने सवारी जाँच पनि प्रहरीले कडाइ गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !