१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न बालुवाटारमा चार दलको बैठक जारी


प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौँ । भावी राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सकिएर ओली बाहिरिएपछि चार दलका नेताहरु बैठकको लागि बालुवाटार प्रवेश गरेका थिए । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग कुरा नमिलेपछि ओली बाहिरिएका थिए ।

एमाले अध्यक्ष ओलीले गत १० गतेको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने अडान लिएपछि कुरा नमिलेको हो । यद्यपि प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने तर्क ओलीसँग गरेका थिए ।

केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । तथापि प्रधानमन्त्री प्रचण्ड नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाएर काँग्रेसलाई राष्ट्रपति दिएमा आफूलाई सहज हुने निष्कर्षमा पुगेका छन् ।

निर्वाचन अघिको गठबन्धनका चार दलले राष्ट्रपतिको उम्मेदवार आजै टुंग्याउन छलफल जुटेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् ।

चार दलहरुले आ-आफ्नो पार्टीमा आन्तरिक छलफल गरेपछि पुन: बैठक बसेको हो । आज शुक्रबार बिहान पनि बालुवाटारमा बसेको चार दलको बैठक सकारात्मक भएको थियो । बिहानको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा विभिन्न विकल्पहरुमा गहनतम छलफल भएको थियो ।

बालुवाटारमा तीन घण्टा भन्दा बढी भएको बैठकमा कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेतापनि कांग्रेस बाहिरबाट बन्ने उम्मेदवारलाई पनि सघाउनुपर्ने प्रस्ताव अन्य दलले राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो । राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफललाई तीब्रता दिएका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारबाट बाहिरिए ओली, प्रचण्डसँग कुरा मिलेन

कांग्रेस प्रवक्ताको दावी : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबै दलको समर्थन रहन्छ

पुस १० मै टुंगो लागिसकेको राष्ट्रपतिमा एमालेले नै उम्मेदवार दिन्छ : अध्यक्ष ओली

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !