७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बालुवाटारमा फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारको विषयमा निर्णायक वार्ता सुरु भएको हो ।

केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । तथापि प्रधानमन्त्री प्रचण्ड नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाएर काँग्रेसलाई राष्ट्रपति दिएमा आफूलाई सहज हुने निष्कर्षमा पुगेका छन् ।

नेपाललाई राष्ट्रपति बनाएमा नेकपा एसको एमालेसँग एकीकरण भएर ठूलो दल भएमा आफू कम्जोर हुने प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको छ । दुई शीर्ष नेताहरुबीच राष्ट्रपतिमा सहमति नभएमा सत्ता सहकार्यको लागि ओली र प्रचण्डको यसलाई अन्तिम भेटको रुपमा पनि हेरिएको छ ।

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत भएतापनि नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म औपचारिक टुंगो लाग्न नसकेर अलमलमा परेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली हानिएर बालुवाटार पुगेका हुन् ।

आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठकमा चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि प्रचण्ड र ओलीबीच सुरु भएको निर्णायक वार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

हिजो मात्र एमालेका अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस सरकारको निर्णय दु:खद भएको टिप्पणी गरेका थिए । हिजो आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।

ओलीले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताउदै हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवित्तिप्रति चिन्ता व्यक्त गरेका थिए । नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताएका थिए ।

सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएपछि ओलीले आपत्ति प्रकट गरेका थिए । जनयुद्ध दिवसलाई लिएर ओलीले गरेको टिप्पणीले दुई नेताहरुबीचको सम्वन्ध थप धरापमा परेको छ ।

आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपाले बाजी मार्ने प्रवल सम्भावना

चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत

चार दलले राष्ट्रपतिको उम्मेदवार आजै साँझ ५ बजेपछि टुंग्याउने

चार दलको बैठक सकियो, साँझ ५ बजे पुन: बस्ने

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाउने सरकारको निर्णय दु:खद हो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !