७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा चार दलका शीर्ष नेताहरुको बैठक जारी


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेता सहभागी छन् ।

यस्तै बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भएका छन् ।

राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेको समयमा छलफल जारी रहेको बेला प्रधानमन्त्री निवासमा पुरानो गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति पदको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले आन्तरिक तथा दलीय छलफल बढाएका छन् ।

हिजो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग छलफल गरेका थिए ।

उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म केही टुंगो नभएको पनि बताएका थिए । बिहीबार साँझ चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न तीन दलका नेताहरबीच छलफल भएपनि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !