१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक्लाएक्लै वार्ता भएको बालुवाटार स्रोतले जनाएको हो ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली केहीसमयअघि मात्र बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले दौडधुप बढेको हो ।

अध्यक्ष अ‍ोलीले वर्तमान सत्ता गठबन्धन बनेको समयमा भएको पूर्वसहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडान राख्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको आधारमा साझा उम्मेदवार बनाएर राष्ट्रपति चयन गर्नुपर्ने कार्ड फाल्दै आएका छन् ।

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव लिएर लोसपा नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् ।

राष्ट्रपतिमा कांग्रेस र एमालेले एकअर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन लोसपाका नेताहरु लागिपरेका बेला प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सुरु भएको ‘वान टू वान’ वार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी जारी रहेका समयमा गत हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरको नाम लिएको चर्चा समेत चलेसंगै लोसपाका नेताहरुले अन्य राजनीतिक दलहरुसँग लविङ् सुरु गरेका छन् । भारतको ‘ग्रिन सिग्नल’ पाएका ठाकुर राष्ट्रपति हुन जोसिएका हुन् ।

नेपालका छिमेकी दुई मित्रराष्ट्र उत्तरको चीन र दक्षिणको भारत पनि आफ्नो स्वार्थ मिल्ने अनकूल व्यक्ति राष्ट्रपति हुनुपर्ने अप्रत्यक्ष लबिङमा रहेका छन् । अहिले भारत खुलेरै ठाकुरको पक्षमा देखिएको छ भने कम्युनिष्ट पृष्ठभूमिका व्यक्ति राष्ट्रपति हुँदा आफूलाई सहज महसुस ठान्ने चीन अहिलेसम्म खुलिसकेको छैन ।

यसैबीच आज बिहान मात्र चिनियाँ राजदूत छन् सङले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । चिनियाँ राजदूतसँग भेटवार्तापछि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ‘वान टू वान’ वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भर्खरै जाडो कम भएर बिस्तारै गर्मी बढ्न थालेको राजधानी काठमाडौँमा राष्ट्रपतिको विषयलाई लिएर राजनीतिक सरगर्मी भने ह्वात्तै बढेको छ । राष्ट्रपतिमा कुन दलका कुन नेताले बाजी मार्ने हुन भनेर थाहा पाउनको लागि अझै केही दिन कुर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा

राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुरले बालकोट पुगेर भेटे ओलीलाई

महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लोसपाद्वारा लविङ् सुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !