६ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा


महन्त ठाकुर र शेरबहादुर देउवा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव लिएर लोसपा नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् ।

अध्यक्ष ठाकुरसहित लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा लगायतका नेताहरु देउवा निवास धुम्बाराही पुगेका हुन् । राष्ट्रपतिमा कांग्रेस र एमालेले एकअर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति जुटाउन लोसपाका नेताहरु लागिपरेका छन् ।

लोसपाका शीर्ष नेताले हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए भने आज राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर कांग्रेस सभापति देउवाको निवास धुम्बाराही पुगेका हुन् ।

हिजो मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन दलहरूसँग पहल गर्ने निर्णय गरेपछि लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन हिजोबाट लविङ् सुरु गरेको हो ।

राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी जारी रहेका समयमा गत हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरको नाम लिएको चर्चा समेत चलेसंगै लोसपाका नेताहरुले अन्य राजनीतिक दलहरुसँग लविङ् सुरु गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको पुर्व सहमति तोडेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको साझा उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि राजनीतिक दलहरूबीच भावी राष्ट्रपतिका लागि दौडधुप बढेको छ । भारतको ‘ग्रिन सिग्नल’ पाएका ठाकुर राष्ट्रपति हुन जोसिएका हुन् ।

राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति जुट्न नसकेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष राखेका हुन् । संघीय संसदको प्रतिनिधि सभामा लोसपाका ४ जना मात्र सांसद रहेका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुरले बालकोट पुगेर भेटे ओलीलाई

महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लोसपाद्वारा लविङ् सुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !