७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुरले बालकोट पुगेर भेटे ओलीलाई


केपी शर्मा ओली र महन्थ ठाकुर

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । लोसपा अध्यक्ष ठाकुर बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

आजै राष्ट्रपतिको प्रस्ताव लिएर लोसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर ठाकुर ओली निवास बालकोट पुगेका हुन् ।

अध्यक्ष ठाकुरसहित लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लाले बालकोट पुगेर अध्यक्ष ओलीलाई भेटेका हुन् । लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन आजबाट लविङ् सुरु गरेको हो ।

राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी जारी रहेका समयमा गत हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरको नाम लिएको चर्चा समेत चलेसंगै लोसपाका नेताहरुले अन्य राजनीतिक दलहरुसँग लविङ् सुरु गरेका हुन् ।

यसअघि पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए । आज मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति जुट्न नसकेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष राख्ने लोसपाले तयारी गरेको हो ।

लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ ।  आज साँझ ओलीसँग भेटेपछि लोसपाका नेताहरुले भोलि बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट तय भएको छ । संघीय संसदको प्रतिनिधि सभामा लोसपाका ४ जना मात्र सांसद रहेका छन् ।

यो पनि पढ्नुहोस्

महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लोसपाद्वारा लविङ् सुरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !