१३ बैशाख २०८१, बिहिबार

महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लोसपाद्वारा लविङ् सुरु


प्रचण्ड र महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन लविङ् सुरु गरेको छ । राष्ट्रपतिको प्रस्ताव लिएर लोसपाका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका छन् ।

आज मंगलबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमतिअनुसार राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउन दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो । ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने पार्टीले निर्णय गरेपछि लोसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

अध्यक्ष ठाकुरसहित लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । लोसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टी अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति खोज्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरुबीच रस्साकस्सी जारी रहेका समयमा गत हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरको नाम लिएको चर्चा समेत चलेसंगै लोसपाका नेताहरुले अन्य राजनीतिक दलहरुसँग लविङ् सुरु गरेका हुन् ।

राष्ट्रपतिमा काँग्रेस, एमाले, माओवादी केन्द्रमा एकअर्का दलहरुको बीचमा सहमति जुट्न नसकेको बेला राष्ट्रपतिमा ठाकुरलाई प्रस्ताव प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसमक्ष राख्ने लोसपाले तयारी गरेको हो ।

लोसपाका नेताहरुले भाेलिसम्म देउवा र ओलीलाई पनि भेट्ने तयारी गरेका छन् । लोसपाले पनि सहमतिको आधारमा राष्ट्रपतिमा दाबी गर्ने भएको छ । यसअघि पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।

आगामी फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका रहेको छ । संघीय संसदको प्रतिनिधि सभामा लोसपाका ४ जना मात्र सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !