७ बैशाख २०८१, शुक्रबार

निर्वाचन कानुनको अवज्ञा क्षम्य हुँदैन : प्रमुख आयुक्त थपलिया


दिनेश कुमार थपलिया फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाएको छ । आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन खर्च विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘आयोग निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार अघि बढ्छ, निर्वाचन कानुनको अवज्ञा क्षम्य हुँदैन ।’ अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै उनले यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए ।

निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचना सहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको उनले बताए ।

निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताए । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उनले बताए ।

कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिए । उक्त अवसरमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !