८ बैशाख २०८१, शनिबार

गठबन्धन बदल्न खोजिएको होइन राष्ट्रपतिमा राष्ट्रिय सहमति मात्र खोजिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधानमन्त्री श्रेष्ठ फाइल फोटो

कर्णाली । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन बदल्न नखोजिएको तर राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति मात्र खोजिएको स्पष्ट पारेका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको जोड दिएका हुन् । प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए ।

उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ । प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन् । सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ ।”

सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !