१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव पेश


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गरेका हुन् ।

कानूनमन्त्री प्रधानले उक्त प्रस्ताव राख्दै आर्थिक अपराध बढ्दै गएको र मुलुकबाट पूँजी पलायन हुने तथा राजस्व छल्ने कार्यका विरुद्ध कारबाही चलाउन आवश्यक भएकाले उक्त प्रस्ताव पेश गर्नुपरेको बताए । उक्त विधेयकलाई प्रस्तुत गर्नु पूर्व बैठकले नेमकिपाका सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८’लाई सर्वसम्मतीले स्वीकृत गरेको थियो । बैठकमा कृषि तथा पशुपन्छि विकासमन्त्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको कृषिमन्त्री साहले जवाफ समेत दिए पछि विधेयकलाई स्वीकृत गरिएको थियो । सभामुख देवराज घिमिरले उक्त विधेयक माथि संशोधन हाल्न चाहेमा सांसदरुलाई ७२ घण्टा भित्र सिंहदरबारस्थित विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने व्यहोराका बारेमा समेत बैठकमा जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !