८ बैशाख २०८१, शनिबार

काँग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


शेरबहादुर देउवा र विनय मोहन क्वात्रा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्रा र कांग्रेसका सभापति देउवाबीच आज अपराह्न भेटवार्ता भएको हो ।

काँग्रेस सभापति देउवाले सामाजिक संजाल ट्वीटरमार्फत आफू र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको जानकारी दिएका हुन् । देउवाले नेपाल–भारत बीचको पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको बताएका छन् ।

देउवाले नेपाली र भारतीय जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् । साथै उनले दुई देशको साझा लक्ष्य भनेको जनताको हितमा नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनु रहेको पनि बताएका छन् ।

नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । उनले परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसँग आज मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

क्वात्रा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका हुन् । भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !