६ बैशाख २०८१, बिहिबार

उच्चस्तरीय संयन्त्रको बैठकमा रास्वपा उपस्थित, नागरिक उन्मुक्ति पार्टी अनुपस्थित


उच्चस्तरीय राजनीतिक संयन्त्र

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपस्थित भएको छ भने नागरिक उन्मुक्ति पार्टी अनुपस्थित रहेको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपाका सभापति रवि लामिछाने सहभागी भएका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अनुपस्थित भएकी हुन् । बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहँदा अध्यक्ष श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी छन् ।

अध्यक्ष श्रेष्ठ डिल्लीबजार कारागारमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न त्यहाँ पुगेकी हुन् । नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्नुका साथै विश्वासको मत समेत दिएपनि सरकारमा सहभागी भएको छैन ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको जारी बैठकमा संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् । यद्यपि प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेर विश्वासको मत समेत दिएको जनता समाजवादी पार्टी (जसपा) पनि संयन्त्रको बैठकमा अनुपस्थित रहेको छ ।

सरकारबाट आफना पार्टका मन्त्रीहरुलाई फिर्ता बोलाए पनि रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई गरेको समर्थन भने कायमै राखेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ता गठबन्धनका नेताहरुले रास्वपालाई पुन: सरकारमा ल्याउन प्रयास जारी रहेको बताउँदै आएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित भएको नागरिक उन्मुक्ति पार्टीले हिजो सुदूरपश्चिम प्रदेशका तत्कालिन मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेशसभाबाट विश्वासको मत लिँदा उक्त पार्टी अनुपस्थित भएर एमाले नेतृत्वको सरकार ढलेर काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

संयन्त्रको जारी बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल भइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले अध्यक्ष ओली सशंकित देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि काँग्रेस नेतृत्वको सरकार बन्ने भएको छ ।

हिजो मात्र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज पद तथा गोपनीयताको सपथ लिंदै छन् । सुदूरपश्चिमबाट प्रदेश सरकारमा ‘कमब्याक’ गरेको काँग्रेसले प्रधानमन्त्री प्रचण्डले दिएको ‘ग्रीन सिग्नल’ दिंदै आएकोले संघीय सरकारमा समेत फेरबदल आउनसक्ने विश्लेषण गर्न थलिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !