६ बैशाख २०८१, बिहिबार

नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथग्रहण आज हुँदै


कमलबहादुर शाह फाइल फोटो

धनगढी । नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको शपथग्रहण आज हुँदै छ । नवनियुक्त मुख्यमन्त्री शाहको आज शुक्रबार पद तथा गोपनीयताको शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हिजो साँझ सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख जोशीले प्रदेशसभामा सबैभन्दा ठूलो दल काँग्रेसको संसदीय दलको नेता शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसंगै कांग्रेसका शाह मुख्यमन्त्री बनेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार ढलेको हो । विश्वासको मत लिने समयसीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाको बैठकमा उपस्थिति नै भएको थिएन ।

सुदूरपश्चिम प्रदेशसभाबाट विश्वासको मत नपाएसंगै मुख्यमन्त्री राजेन्द्र रावल स्वतः पदमुक्त भएका थिए । रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेपछि उनी पदमुक्त भएपछि उनले राजीनामा दिएका थिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा (एमाले) का १०, नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ जना सांसद रहेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

स्वत: पदमुक्त भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

 सुदूरपश्चिममा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री रावल पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !