११ बैशाख २०८१, मंगलबार

कांग्रेसलाई प्रतिपक्षी दल नबनाउन दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


सर्वोच्च अदालत

काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने भन्दै दायर भनेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

नेपाली कांग्रेसलाई प्रतिपक्षी दल र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

आज बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा कारण देखाउ आदेश र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ भएको थियो । सो रिटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, सो दलका नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपनामल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !