७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिमा एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई हराएरै छाड्छौँ : महामन्त्री थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् ।

लोकतन्त्र संवाद केन्द्रले आज बुधबार काठमाडौंमा आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारक सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गर्नुका साथै हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको सुनाए ।

विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको थापाको जिकिर थियो । उनले नाम उच्चारण नगरेरै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका कारण कांग्रेसको मनमा डर बसेको र आफूहरुले एमालेको उम्मेदवारलाई हराएर डरबाट मुक्त हुन चाहेको पनि जिकिर गरे ।

थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए । उनले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !