८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा भेटवार्ता


केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड

काठमाडौँ । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच आज सोमबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग संयुक्त रुपमा छलफल गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन पार्टीका शीर्ष नेताबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

तीन नेताहरुबीच भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा छलफल केन्द्रित भएको बताइएको छ । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग नागरिकता विधेयकबारे छलफल गरेकोले सोही विषयमा समझदारी कायम गर्न तीन शीर्ष नेताहरुबीच छलफल भएको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय महत्वको विषयमा अनौपचारिक छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको बताइएको छ ।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्रीले उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने क्रममा ओली र देउवालाई पनि बोलाएका हुन् । तीन शीर्ष नेताहरुबीच भएको छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारी पनि सहभागी भएको बताइएको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र कांग्रेसले राष्ट्रिय सहमतिको सरकारमा पक्षमा देखिएका छन् भने एमाले यसबारे विपक्षमा रहेको छ । रास्वपा हिजो सरकारबाट बाहिरिएसंगै उसले आगामी निर्वाचनमा देशको सबभन्दा ठूलो पार्टी हुने सभापति रवि लामिछानेले उद्घोष गरेपछि पुराना राजनीतिक दलका शीर्ष नेताहरुले सिंहदरवारमा छलफल गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !