७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी अर्यालको मनोनयन दर्ता


उर्मिला अर्याल मनोनयन दर्ता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका खिमलाल देवकोटा रहेका छन् ।

संघीय संसद् सचिवालयले आज आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । आज अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय भएको छ । आज आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएपछि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी अर्याल निर्विरोध निर्वाचित हुने प्रवल सम्भावना रहेको छ । राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदक लागि भोलि सोमबार निर्वाचन हुँदै छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने, माओवादीलाई समर्थन गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !