८ बैशाख २०८१, शनिबार

गठबन्धनमा खटपट आएकै बेला कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । काँग्रेसले पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भोलि शनिबार बिहान ११ बजे बैठक बोलाएको हो ।

राष्ट्रपति र गृहमन्त्रालयको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट आएकै बेला कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

भोलि बस्ने बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । हिजो बिहीबार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेपछि सरकारमा सहभागी नभई असन्तुष्ट रहेका जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले आफ्नो कित्तामा ल्याउने प्रयास गरिरहेको हो ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बनाउन अंकगणित मिलाउने रणनीतिमा रहेको छ । यसका साथै विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपटले पुरानो गठबन्धन ब्युँताउने सोचमा काँग्रेस रहेको छ ।

गठबन्धनमा खटपट आएकै बेला मौकामा चौका हान्ने रणनीति रहेको काँग्रेस गठबन्धन फुटाउन लागि परेको छ । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई गठबन्धनबाट बाहिर ल्याउने प्रयासमा काँग्रेस लागेको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई २ दिने अल्टिमेटम दिएर गृह मन्त्रालय नपाए सरकार छोड्ने मनस्थितिमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहिले सरकार छोड्ने हो भनेर काँग्रेस कुरेर बसेको छ । रास्वपाले पनि सरकार छोडेर विपक्षीमा बसेमा राष्ट्रियसभा उपाध्यक्ष र राष्ट्रपतिमा बाजी मार्ने कसरतममा काँग्रेस लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !