१३ बैशाख २०८१, बिहिबार

राहदानीको कसुरमा रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ । रास्वपाका सभापति लामिछानेविरुद्ध राहदानीको कसुरमा पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको हो ।

लामिछानेले राहदानी दुरुपयोग गरेको आरोप लगाउँदै सिन्धुलीका युवराज पौडेल (सफल) ले आज मंगलबार काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएका हुन् । लामिछानेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको हो ।

यसअघि नागरिकतासम्बन्धी मुद्दा पनि युवराजले नै सर्वोच्च अदालतमा दायर गरेका थिए । अदालतले लामिछानेको नागरिकता अवैध रहेको भन्दै सांसद र मन्त्री पद पनि खारेज भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । यद्यपि प्रहरीले उनको जाहेरी अध्ययन गरिरहेको भन्दै अझसम्म दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको प्रहरीले बताएको छ ।

उक्त कसुर अनुसार लामिछानेलाई ५ वर्षसम्म कैद र हदैसम्म जरिवानासमेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाउन माग गरिएको छ । लामिछानेले गैरनेपाली नागरिक रही प्राप्त गरेको राहदानीलाई लिएर कानुन बमोजिम मुद्दा चलाउन माग गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !