८ बैशाख २०८१, शनिबार

प्रचण्ड प्रधानमन्त्री भएपछि अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आइपुगिन्


भिक्टोरिया नुल्यान्ड

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका आज नेपालमा आइ पुगेकी छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि अमेरिकी उपविदेशमन्त्री नुल्यान्डसहितको टोली नेपाल आइपुगेको हो ।

नेपालका लागि अमेरिकी राजदूत डीआर थम्सन लगायतको दूतावासको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ ।

उपविदेशमन्त्री भिक्टोरियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेतासँग भेटने कार्यक्रम रहेको छ । उनले परराष्ट्रमन्त्री विमला पौड्यालसँग पनि भेटवार्ता गर्नेछिन् ।

उपविदेशमन्त्री भिक्टोरियासँगै उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिससमेत नेपाल आएका छन् । अमेरिकी भ्रमण टोली फ्लाइ दुवईबाट नेपाल आएका हुन् । भ्रमण टोली भोलि सोमबार भारत लाग्नेछ ।

नेपालस्थित अमेरिकी दूतावासले ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप-विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनु जनाएको छ ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी हुन् । त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उनी ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छन् । उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन् ।

उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियासहित वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !