११ बैशाख २०८१, मंगलबार

मन्त्रालयबाट निजी गाडीमा बाहिरिएका रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


प्रचण्ड र रवि लामिछाने फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि लामिछानेले शुक्रबार साँझ सिंहदरवारबाट बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासले आज लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्चले लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको हो । लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको हो ।

सर्वोच्चले लामिछाने सांसद र मन्त्री बन्न अयोग्य ठहर गरेको हो । सर्वोच्चको फैसलासंगै लामिछाने उपप्रधान एवं गृहमन्त्रीबाट पदमुक्त भएका छन् । यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

सर्वोच्चको फैसला आउँदा गृह मन्त्रालयमै रहेका लामिछाने आज साँझ लगभग साढे ६ बजेतिर बाहिरिएका थिए । लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्ने भएका छन् । सर्वोच्चको फैसलापछि सिंहदरवारस्थित गृह मन्त्रालयबाट बाहिरिंदै गर्दा उनले यस्तो बताएका हुन् ।

सर्वोच्चको फैसलापछि पत्रकारले राखेको जिज्ञाषामा उनले आफू अहिले अनागरिक भएको भनेर भावुक प्रतिक्रिया पनि दिएका छन् । आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा संचारकर्मीहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए ।

उनले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको स्पष्ट पारेका छन् । उनी निजी सवारी साधन चढेर गृह मन्त्रालयबाट बाहिरिएका छन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्छु : रवि लामिछाने

यस्तो छ सर्वोच्चले रवि लामिछानेको विपक्षमा गरेको फैसला (पूर्णपाठसहित)

रवि लामिछानेको सांसद पद खारेज, उपप्रधान एवं गृहमन्त्रीबाट पनि पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !