७ बैशाख २०८१, शुक्रबार

सर्वोच्च परिसरमा बढाइयो सुरक्षा, गृहमन्त्रीको मुद्दाको फैसला आजै आउने


सर्वोच्च परिसरमा बढाइयो सुरक्षा

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज शुक्रबार सर्वोच्चमा उपप्रधानमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर आजै फैसला आउने भएपछि सर्वोच्चमा सुरक्षा बढाइएको हो ।

लामिछानेको मुद्दाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपीको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरीले बताएको छ । सर्वोच्च परिसरमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएसँगै फैसलाका लागि न्यायाधीशहरु संवैधानिक इजलासमा आन्तरिक गृहकार्यमा जुटेका छन् । उनीहरुले छलफल सकेपछि लामिछानेको नागरिकता मुद्दामा आदेश दिने तयारी छ ।

बहस सकिएपछि आदेश आउने भएपछि सर्वसाधारणको पनि सर्वोच्चतिर चासो बढेको छ । उक्त मुद्दाको फैसला आजै आउन सक्ने प्रवल सम्भावना रहेको बताइएको छ । योसँगै अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षाकर्मीको संख्या बढाएको छ ।

आज गृहमन्त्री लामिछाने पक्ष र विपक्षीका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए । लामिछानेका तर्फबाट नरेन्द्र केसी, आशिष अधिकारी सुदिप पन्थ र यज्ञमणि न्यापाने गरी ४ जना कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै रिट निवेदकका तर्फबाट कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, कीर्तिनाथ शर्मा पौडेल लगायतले बहस गरेका थिए ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो । इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा रहेका छन् ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री लामिछानेको मुद्दाको बहस सकिएसंगै सर्वोच्च परिसरमा बढाइयो सुरक्षा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !