८ श्रावण २०८१, मंगलबार

सिहदरवार पुगेर बालेनले मागे गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउन सहयोग


रवि लामिछाने र बालेन शाह

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । आज दिउँसो १२ बजे सिहदरवारस्थित गृह मन्त्रालय पुगेर काठमाडौँका मेयर शाहले गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् ।

आज दिउँसो मेयर शाहले एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली समेत लगेर उपप्रधानमन्त्री लामिछानेलाई भेटेर सुकम्बासी बस्ती व्यवस्थापनका लागि अनुरोध गरेका हुन् ।

गृहमन्त्री लामिछाने र प्रमुख शाहबीचको भेटवार्तामा काठमाडौंको सुकुमबासी समस्या समाधान गर्नेतर्फ बृहत छलफल भएको हो । यसअघि नै काठमाडौं महानगरले गृह मन्त्रालयलाई थापाथलीको सुकुमबासी हटाउन सहयोग मागेको थियो ।

काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्र लेख्दै काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन सहयोग मागे‍को थियो । काठमाडौं महानगरले गृहलाई पत्र लेख्दै बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वयको लागि अनुरोध समेत गरेको थियो ।

तर गृहले विकल्पविना सहयोग गर्न नसक्ने जवाफ दिएपछि मेयर शाह गृहमन्त्री लामिछानेलाई भेट्न पुगेका हुन् । छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं महानगरले केही महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएपनि स्थानीय विरोधमा उत्रिएपछि पछि हट्न बाध्य भएको थियो । थापाथलीको अनधिकृत बस्ती हटाउने क्रममा महानगर प्रहरी र सुकुम्बासीबीच झडप समेत भएको थियो ।

यो पनि पढ्नुहोस्

बागमती किनारका सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !