६ बैशाख २०८१, बिहिबार

रक्षामन्त्री उप्रेतीद्वारा द्रुतमार्गको निरीक्षण


हरिप्रसाद उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा आगामी आगामी विसं २०८१ सम्ममा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

आयोजना निरीक्षणपछि मन्त्री उप्रेती आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

एसियाली सडकको मापदण्डअनुरुप निर्माण हुने उक्त राजमार्गमा लामा र छोटा गरी ८७ वटा पुल र तीन वटा सुरुङ रहने छन् । करिब ७२ दशमलव छ किमी लम्बाइको उक्त द्रुतमार्गका हालसम्म भौतिक प्रगति १९ र वित्तीय प्रगति २१ प्रतिशत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !