६ बैशाख २०८१, बिहिबार

सरकारले दियो प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने जिम्मा गृहलाई


मन्त्रिपरिषदको बैठक फाइल फोटो

काठमाडौं । सरकारले संघीय संसद भवनअघि आफैंलाई आगो लगाएर उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ । शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको हो ।

आज बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । सरकारले प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको हो ।

“आत्मदाह गर्नुभएका प्रेमजीले गम्भीर विषय उठाउनुभएको थियो, उहाँले आफू अन्यायमा परेको विषय पनि उठाउनुभएको थियो”, गृहमन्त्री लामिछानेले भने, “ती विषयमा गृह मन्त्रालयले नै तदारुकताका साथ छानबिन गर्ने र सत्यतथ्य बाहिर आइसकेपछि आवश्यक कदम चाल्ने निर्णय भएको छ ।”

गृहमन्त्रालयले यस विषयमा काम अघि बढाउने उनले जानकारी दिए । छानबिनका लागि समिति गठनको आवश्यकता अहिले नदेखिएको उनले स्पष्ट पारे । “समिति गठन गर्नुपर्ने आवश्यकता अहिले नै छैन तर आवश्यक परेको खण्डमा समिति गठन गरिनेछ”, उनले भने ।

इलामका व्यवसायी आचार्यले हिजो दिउँसो नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा आज विहान ५ बजे निधन भएको थियो ।

उनले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । अब उनले उठाएका विषयबारे गृहमन्त्रालयले छानबिन गर्नेछ ।

मन्त्रिपरिषद्‍को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गर्दै सोको जिम्मेवारी गृह मन्त्रालयलाई दिएको हो । मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले भोलि नै छानबिन आयोग गठन गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !