८ बैशाख २०८१, शनिबार

कार्यभार सम्हालेकै दिन स्वास्थ्यमन्त्रीले गरे कान्ति अस्पतालको निरीक्षण


पदम गिरी कान्ति अस्पतालको निरीक्षण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले महाराजगञ्ज पुगी अस्पतालको अनुगमन गरेको अस्पतालका कार्यकारी निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।

उनका अनुसार मन्त्री गिरीले २५ शय्याको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइसियु), बच्चाको क्यान्सर शय्या, नवजात शिशुको एचडियु (हाइडिपेडेन्सी युनिट) र कुरुवा घरको अनुगमन गरे ।

अनुगमनका क्रममा मन्त्री गिरीले नवजात शिशुको मृत्युदर कसरी घटाउने भन्नेमा चासो राखेको अस्पतालका निर्देशक डा. बसौलाले बताए । नेपालमा अहिले प्रतिएक हजारमा २१ जना बाल मृत्युदर हुने गरेको छ । सन् २०३० दिगो विकास लक्ष्यअनुसार बालमृत्युदर १२ जनामा झार्ने लक्ष्य राखिएको छ ।

कुरुवा घरमा बिरामीका कुरुवासँग उपचार र बस्ने सुविधाका बारेमा कुरा गर्नुभएको अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए । उनले नवनियुक्त मन्त्री गिरीसँग जनशक्ति र उपकरण अभाव रहेको जानकारी गराएको बताए । मुलुकको एकमात्र बाल अस्पतालका रूपमा अस्पतालमा तीन सय ३० शय्या सञ्चालनमा रहेको छ ।

दैनिक छ सयभन्दा बढी बालबालिका उपचार हुने अस्पतालले एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने सरकारको योजना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !