७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु


सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । आफूलाई विश्वासको मत दिने राजनीतिक दलका नेतासँग प्रधानमन्त्री प्रचण्डले आज छलफल सुरु गरेका हुन् ।

सत्ता समीकरणबारे थप छलफल गर्न सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् । सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् ।

यद्यपि प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उम्मेदवारको समेत टुंगो लगाइसकेको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएर मन्त्रिपरिषद समेत विस्तार भइसकेको छ ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल छन् ।

नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !