७ बैशाख २०८१, शुक्रबार

कांग्रेसले प्रधानमन्त्री पद बाँडिरहेको छ, सरकारविरुद्धको बाह्य हस्तक्षेप प्रतिरोध गर्छौं : ओली


एमाले प्रशिक्षण कार्यक्रम

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत पुर्याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् ।

एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको आरोप लगाएका हुन् ।

यस्तै ओलीले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गरेका छन् । ओलीले छिमेकी मित्रराष्ट्र भारतलाई लक्षित गर्दै बाह्य हस्तक्षेप स्वीकार गर्न नसकिने बताएका हुन् ।

ओलीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको खुलासा गरे । सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको भन्दै ओलीले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले केही बाहिरी तत्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमुधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए । “हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने ।

एमाले प्रशिक्षण कार्यक्रम

उनले वर्तमान सरकारलाई राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने दावी गरे । उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए ।

“यो सरकारलाई सफल बनाउन चाहान्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छाैँ । सरकारले सही नीति लेओेस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस ।”

अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरुलाई निर्देशनसमेत दिए । उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए ।

उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे ।

कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए । उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए

विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरुले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए । उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ ।

कार्यक्रममा एमाले उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले संविधान, संसदीय प्रक्रिया र सांसदको प्रभावकारी भूमिका तथा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले सङ्घीय संसद् सचिवालय र सांसदको अन्तरसम्बन्ध, पूर्वमन्त्री माधव पौडेलले कानुनतर्जुमा प्रक्रियामा सांसदको भूमिका, प्रशासनविद् काशीराज दाहालले संसदीय समितिको प्रभावकारिता र सांसदको भूमिका तथा पूर्वसचिव शिशिर ढुङ्गानाले भौतिक तथा मानवीय विकासमा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् । अभिमुखीकरण आइतबारसम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !