१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डसँग रासस अध्यक्ष झासहितको टोलीको भेटवार्ता


प्रचण्ड र धर्मेन्द्र झा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईसहित राष्ट्रिय समाचार समिति (रासस)को टोलीले भेट गरी सेवा प्रवाह र संस्थागत विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले रासस राज्यको समाचार समिति भएकाले यसको विकास र सुधारका लागि सरकार तयार रहेको बताए । उनले भने, “राससले पछिल्ला दिनमा राम्रो काम गरिरहेको जानकारी पाएको छु, सुधार र विकासका लागि सहयोग गर्न सरकार तयार छ ।”

यसअघि अध्यक्ष झाले प्रधानमन्त्री दाहाललाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै राज्यको महत्वपूर्ण सञ्चारमाध्यम भएकाले सरकारको नीति निर्देशन अनुरुप अघि बढिरहेको बताए । उनले भने, “राससको विकास र विस्तारका लागि सरकारबाट हुने जुनसुकै आवश्यक निर्देशन कार्यान्वयनमा हामी तयार छौँ ।”

टोलीमा प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी थिए । देशको एकमात्र समाचार समितिको रुपमा राससले नेपाली, अङ्ग्रेजी, अन्तराष्ट्रिय, फोटो, श्रव्यदृश्य ( भिजुअल), श्रव्य सेवासहितका समाचार सामग्री छापा, प्रसारण र अनलाईनलागयतका आमसञ्चार माध्यमलाई प्रदान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !