११ बैशाख २०८१, मंगलबार

संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा


डा. रोजनाथ पाण्डे

काठमाडौं । संघीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद् सचिवालयमा कार्यरत सहसचिव पाण्डे आज सचिवमा बढुवा भएका हुन् ।

सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो । आज बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई बढुवा गरेको हो ।

उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् । त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आएका थिए । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए । उनले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !