६ बैशाख २०८१, बिहिबार

भागवण्डा पुर्‍याउन मन्त्रालय नफुटाउने पक्षमा सत्ता साझेदार दल


सत्ता साझेदारको दलको बैठक

काठमाडौँ । सत्ता साझेदार दलहरु सरकारमा सहभागी हुनकै लागि भागवण्डा पुर्‍याउन मन्त्रालय नफुटाउने पक्षमा देखिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको सत्ता साझेदारको दलको अनौपचारिक बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यस्तो बताएका हुन् ।

सत्ता साझेदार सात दललाई भागवण्डा मिलाउनकै लागि सरकारका मन्त्रालय फुटाउने चर्चा चलेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मन्त्रालय नफुटाउने पक्षमा देखिएका छन् ।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि भागवण्डा पुर्‍याउन मन्त्रालय फुटाउँदा जनतामा गलत सन्देश जाने भन्दै मन्त्रालय फुटाउन नहुने पक्षमा देखिएको छ । आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई भाग पुर्‍याउनकै लागि मन्त्रालय फुटाउन नहुने अडान लिएका छन् ।

वर्तमान संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन पाइने प्रावधान रहेको छ । यद्यपि गठबन्धन दलहरुले बढीभन्दा बढी मन्त्रालय दाबी गरेकोले प्रधानमन्त्री प्रचण्डलाई दबाब बढिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दवावमा भएकोले मन्त्रालयहरु फुटाएर सरकारमा भागवण्डा मिलाउने चर्चा चलेको थियो ।

अहिलेसम्म सत्ता गठबन्धनमा रहेका सात दलहरुमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्रै सरकारमा मन्त्री पठाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म सरकारमा मन्त्री पठाउने निर्णय नै गरेका छैनन् ।

यसका साथै नेकपा (एकीकृत समाजवादी) लाई पनि प्रधानमन्त्री प्रचण्ड सरकारमा सहभागी गराउने रणनीतिमा रहेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने बारेमा ‘ग्रिन सिग्नल’ दिएका छन् ।

सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भएको भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपाल सकारात्मक भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारलाई समर्थन गर्न अध्यक्ष नेपाललाई आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले आफूले यो कार्यकालमा भाषण कम, काम धेरै गरेर देखाउने प्रतिज्ञा गरेका छन् । हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता समेत जनाएपनि भागवण्डा पुर्‍याउन मन्त्रालय नफुटाउने पक्षमा देखिएका प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनलाई मिलाएर लैजान फलामको चिउरा चपाएजस्तै भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !