११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


प्रचण्ड र गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक संसदको चुनावबारे प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको थियो ।

राष्ट्रिय सभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेको तर्फबाट सांसद रहेका खिमलाल भट्टराईले राजिनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक सांसद पद रिक्त रहेको छ ।

भेटका क्रममा राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पेश भइ निष्क्रिय भएका पाँचवटा विधयेकलाई पुन: राष्ट्रिय सभामै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए ।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन् ।

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको काेरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए ।

कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भएपनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !