१३ बैशाख २०८१, बिहिबार

लुम्बिनीमा आज नवनिर्वाचित सांसदहरूको शपथ, भोलि प्रदेशसभा बैठक


नवनिर्वाचित सांसदहरू

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूले आज आइतबार शपथ लिंदै छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशप्रमुख अमिक शेरचनले सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथका लागि प्रदेशका १२ वटै जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूमध्ये कतिपय शनिबार नै दाङ पुगिसकेका छन् ।

प्रतिनिधिसभा र अन्य प्रदेशसभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् ।

लुम्बिनीमा ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक सांसद निर्वाचित भएका थिए। नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, नेकपा माओवादी केन्द्रबाट ९, राप्रपाबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ४, जनमत पार्टी, लोसपा र जसपाबाट ३/३ जना र राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीबाट एक/एक जना सांसद र स्वतन्त्र ३ जनाले जितेका छन् ।

साथै लुम्बिनी प्रदेश सभाको प्रथम अधिवेशन सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । ज्येष्ठ सदस्य भुसालले नै सभामुख चयन नहुँदासम्म बैठक सञ्चालन गर्नेछन् । लुम्बिनी प्रदेश सभामा १० दलको प्रतिनिधित्व छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !