८ बैशाख २०८१, शनिबार

नेकपा एसकाे स्थायी समिति बैठक आज बस्दै, सरकारमा जानेबारे टुंगो लगाउने


एकीकृत समाजवादी फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काे स्थायी समिति आज पनि बस्दै छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज पनि स्थायी कमिटी बैठक बस्ने भएको हो ।

हिजो बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो । एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज निर्णय गर्ने भएको छ ।

पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम सुरु भएको र सरकारबारे आइतबार निर्णय हुने नेताहरूले बताएका छन् । हिजोको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको छ ।

सरकारमा जाने विषयमा दुई थरी मत रहेको एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन् । सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन् ।

तर चुनाव हारेका र सांसद नरहेका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन् । एकीकृत समाजवादीभित्र गठबन्धनमा आबद्ध हुन नसके सांसदहरु जोगाउन नसकिने चिन्ता देखिएको पार्टीभित्र नेताहरु बताउन थालेका छन् ।

बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ । नेताहरुले एमालेसँग मिलेर नगए यस अगाडि पाएका धेरै पदपनि गुमाउनुपर्ने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्।

एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन । कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !