७ बैशाख २०८१, शुक्रबार

अदालतले फैसला नगर्दासम्म गृहमन्त्री रवि लामिछाने विदेशी नागरिक हुन् : धर्मेन्द्र बास्तोला


धर्मेन्द्र बास्तोला

काठमाडौँ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुंगो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुंगो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।

मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, “रविजीको नागरिकता विषयमा विवाद छ, अदालतले फैसला नगर्दासम्म उहाँ विदेशी नागरिक हो । विदेशी नागरिकलाई नेपालको गृहमन्त्री बनाउन भनेको नेपाल र नेपालीमाथि गम्भीर घात हो ।”

उनले अदालतको फैसाला आएपछि मन्त्री बनाइनु स्वाभाविक भएपनि सत्ताको लागि अन्य नेताहरुले गल्ती गरेको बताए । त्यसैगरी गृहमन्त्री लामिछानेले सत्तामा पुग्न भ्रष्टाचार निवारण आयोगको कुरा उठाएको बताउँदै बास्तोलाले त्यस्तो आयोगको पहिला छानविनमा उनी आफै पर्ने दाबी गरे ।

उनले आफूसँग नाम जोडिएर मृत्यु भएका सालिकराम पुडासैनीलाई न्याय दिन सक्नु र अदालतको फैसालले निर्दोष सावित भएर काम गर्न रविलाई शुभकामना समेत बास्तोलाले दिए ।

सच्चा कम्युनिस्ट पार्टीबीच एकता आवश्यकता रहेको बताउँदै संयोजक बास्तोलाले सरकारभित्र रहेका कम्युनिस्ट पार्टीले देश र जनतालाई भ्रम छरेको बताउँदै सबैले गल्ती स्वीकार गरी नयाँ आधारमा एकता आवश्यकता रहेको बताए । संसदवादी पार्टीप्रति जनताको निरासा र वितृष्णा रहेको चुनावले देखाएको बास्तोलाले बताए । “चुनावमा खसेको मतलाई हेर्दा यो व्यवस्थाप्रतिको जनताको तीब्र असन्तुष्टि रहेको पुष्टि गर्छ ।

संयोजक बास्तोलाले अहिले सरकारमा गएका व्यक्तिहरुले आम नेपाली जनताको प्रतिनिधित्व गर्न नसक्ने बताए । जनताको बहुमतबाट चुनिएको व्यक्तिलाई मात्रै शासन गर्ने अधिकार हुने उनले बताए ।

एक अर्को प्रसंगमा बोल्दै बास्तोलाले नेपाल राष्ट्र बैंकले विदेशी दलाल पुँजिपति वर्गको सेवा गरेकै कारण देशमा आर्थिक संकट पैदा भएको बताए । उनले भने, “नाममात्र नेपाल राष्ट्र बैंक हो, नामले नेपालको मानिएपनि काम भने विदेशी दलाल वर्गको गरिरहेको छ । भेलाले खेप थपलियाको अध्यक्षतामा ९९ सदस्यीय समिति चयन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !