११ बैशाख २०८१, मंगलबार

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त


प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

त्यसको समयसीमा आजै साँझ ५ बजे सकिएको हो । सो समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गरेका थिए ।

बहुमतको सरकार गठनका लागि १३८ सीट आवश्यक पर्ने भएपनि प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ जनासहित ३ स्वतन्त्र सांसद गरी १६९ जनाले समर्थन गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा यसअघि भएको भद्र सहमति उल्लंघन गरेपछि प्रचण्डले एमाले सहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीको पद बाजी मारेका हुन् । देउवाले प्रचण्डलाई शनिवारसम्म सरकार गठनका विषयमा अल्टिमेटम दिएका थिए ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रम भोलि दिउँसो ४ बजे हुने भएको छ ।

यास्तो छ हेर्नुहोस् राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको पत्र

 

प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !