८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि


प्रचण्ड र विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका माननीय सदस्य प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी दिएका हुन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण कार्यक्रम भोलि दिउँसो ४ बजे हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज साँझ शीतल निवास पुगेर आफूलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका थिए । नेकपा एमालेसहित दलहरुका बहुमत सांसदको समर्थन लिएर प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका थिए ।

प्रचण्डलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन प्राप्त भएको छ । प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए ।

बहुमतको सरकार गठनका लागि १३८ सीट आवश्यक पर्ने भएपनि प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ जनासहित ३ स्वतन्त्र सांसद गरी १६९ जनाले समर्थन गरेका हुन् ।

शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए ।

चार जना स्वतन्त्र सांसदहरुमध्ये प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाह गरी तीन जनाले एमाले नेतृत्वको बन्ने बाम गठबन्धन सरकारको लागि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका उनीहरु पनि शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्थाअनुसार राष्ट्रपतिले आज पुस १० गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकोमा प्रचण्डको मात्र एकल प्रस्ताव परेको थियो ।

यास्तो छ हेर्नुहोस् राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको पत्र

राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको पत्र

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !