१३ बैशाख २०८१, बिहिबार

प्रचण्डद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी पेश


प्रचण्ड र विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् । नेकपा एमालेसहित दलहरुका बहुमत सांसदको समर्थन लिएर शीतल निवास पुगेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका हुन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री पदको लागि प्रचण्डले दावी पेश गरेका हुन् ।

एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ सिट गरी १६६ जना सांसदको समर्थन लिएर प्रचण्डले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री पदको लागि पेश गरेका हुन् ।

यसअघि आजै प्रचण्डलाई प्रधानमन्त्री बनाउने एकल प्रस्ताव मात्र राष्ट्रपति कार्यालय शीतल निवासमा दर्ता भएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको राष्ट्रपति कार्यालय स्रोत जनाएको छ ।

भावी प्रधानमन्त्री पदको लागि दावी पेश गर्न प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । आज दिउँसो ओली बालकोटमा बसेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिले संविधानको धारा (७६) २ अनुसार एकभन्दा बढी दलको सरकार बनाउनका लागि गरेको आह्वान आजै बेलुका ५ बजे सकिएको छ । अब राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !