१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन


निर्वाचन प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगका पदाधिकारीको टोली शितल निवास पुगेर आज बिहीबार राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन् ।

साथै आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !