७ बैशाख २०८१, शुक्रबार

देउवालाई भेटेर रामचन्द्रले भने – मलाई प्रधानमन्त्री बन्नमा सहयोग गर्नुस्


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

आज बुधबार देउवालाई बालुवाटार भेटेर पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका हुन् । जापान सरकारले पौडेललाई गर्न लागेको सम्मान कार्यक्रममा देउवालाई निमन्त्रणा गर्न उनी निम्तो कार्ड बोकेर बालुवाटार पुगेका थिए ।

जापानी दूतावासले भोलि बिहीबार पौडेलको सम्मानका लागि रिसेप्सन भोज आयोजना गरेर सम्मान वितरण गर्दैछ । यसअघि नै जापान सरकारले पौडेललाई गर्ने भनिएको सम्मान कार्यक्रम कोरोना महामारीका कारण रोकिएको थियो ।

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र फर्काएका थिए । कांग्रेसभित्र प्रधानमन्त्री बन्नका लागि देउवा जोडबलले लागेका छन् । पौडेल भने निर्वाचनको परिणाम सार्वजनिक भएसंगै प्रधानमन्त्री बन्ने दाउमा सक्रिय रुपमा लागेका हुन् ।

यस्तै काँग्रेसका महामन्त्री समेत रहेका गगन थापा त आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफू पार्टीको संसदीय दलको नेता बन्न गृहकार्यमा जुटिरहेका छन् । यस्तै काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका बिपी पुत्र डा. शशांक कोइरालादेखि गणेशमान पुत्र प्रकाशमान सिंहले पनि आफूलाई प्रधानमन्त्रीको आकांक्षीको रुपमा प्रस्तुत गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !